काठमाडौँ। देशका विभिन्न जिल्लाबाट लागू औषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–५ नयाँ बजारबाट ब्राउन सुगरजस्तो देखिने १ ग्राम १२० मिलिग्राम पदार्थसहित २६ वर्षीय स्माइल कार्कीलाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट खैरो हेरोइनजस्तो देखिने ७१० मिलिग्राम पदार्थ र ६ हजार ७५० रुपैयाँ नगदसहित २९ वर्षीय देवु शर्मा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरबाट ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित २५ वर्षीय अनिल साह पक्राउ परेका छन्। वीरगन्जबाट सिमरातर्फ जाँदै गरेको इलेक्ट्रिक स्कुटरमा सवार उनलाई इलाका प्रहरी कार्यालय सिमराको टोलीले समातेको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन एम्पुलसहित २७ वर्षीय आमोस तामाङ पक्राउ परेका छन्। थप अनुसन्धानका क्रममा उक्त औषध प्रितम थापाबाट खरिद गरिएको खुलेपछि उनको घरबाट ठूलो परिमाणमा ट्रामाडोल ट्याब्लेट तथा अन्य एम्पुल बरामद गरी उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसैगरी, पर्साको वीरगन्ज महानगरपालिका–१६ बाट डाईजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइनका २ सय एम्पुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेहा देवी ठाकुर र केवल गोसाईं रहेका छन्। उनीहरूलाई मितेरी पुल क्षेत्रबाट ई–रिक्सामा सवार अवस्थामा नियन्त्रणमा लिइएको हो। उता, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट १२० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित २२ वर्षीय हरि बुढालाई सोमबार राति पक्राउ गरिएको छ। यी सबै घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।