धनगढी, १४ फागुन – सुदूरपश्चिमका सांसदहरुले आफ्नै घरमा बसेर पनि सरकारबाट घरभाडा वापतको रकम लिइरहेको समाचार प्रसारण भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले घरभाडा वापत खातामा आएको रकम फिर्ता गर्ने तयारी गरेका छन्।
सांसद सचिवालयले जानकारी नै नदिई एकमुष्ट सबै रकम खातामा हालेको दावी गर्दै कांग्रेसका सांसदहरुले घर भएका सांसदहरुलाई पनि भाडा वापतको रकम दिनु कर्मचारीको गल्ती भएको टिप्पणी गरेका छन्।
विगत केही महिनाको तलब भत्ताको रकम सांसद सचिवालयले एकमुष्ट खातामा हालेकाले घरभाडा वापतको रकमबारे आफूहरु अनविज्ञ रहेको उनीहरुको भनाई छ।
कैलाली क्षेत्र नम्बर–५ ख का सांसद तथा कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले सञ्चारमाध्यममा समाचार प्रसारण भएपछि मात्रै आफूहरुले घरभाडा वापतको रकम लिइरहेको थाहा पाएको बताए।
जनताको पक्षमा काम गर्न नेपाली कांग्रेसले सरकारलाई समेत दवाव दिइरहेका बेला कांग्रेस सांसदहरुले घर भएरपनि घरभाडा वापतको रकम लिएको खुल्न आउनु दुखद रहेको बताए।
कांग्रेस सांसदहरुले घरभाडा वापतको रकम चाहेर नलिएको बताउँदै उनले सांसद सचिवालयले एकमुष्ट रकम खातामा हाल्दा घरभाडाको रकमपनि खातामा आएको हुनसक्ने उनले बताए।
तरपनि कुन सेवासुविधावापतको रकम सांसद सचिवालयले खातामा हालेको हो, त्यसबारे बुझ्न बाँकी रहेकाले घरभाडा वापतको रकम आएको देखिएमा सो रकम फिर्ता गर्ने उनले बताएका छन्।
घरमै बसेर घरभाडा वापतको रकम लिने ११ जना सांसदको नाम सार्वजनिक भएको थियो। त्यसमध्ये एक डोटीबाट निर्वाचित कांग्रेस सांसद भरतबहादुर खड्का भाडाकै घरमा बस्ने गरेको कांग्रेस संसदीय दलले प्रष्ट पारेको छ।
सांसद खड्काका दाजुभाइको घर धनगढीमा भएपनि उनी भाडामै बस्ने गरेको संसदीय दलका प्रवक्ता पन्तको भनाई छ।
सांसदहरुको खातामा रकम हाल्ने बेलामा राजधानी नजिक घर भएका र नभएका संसदको विवरण नलिएरै सांसद सचिवालयले रकम खातामा हालेको भन्दै कांग्रेस सांसद टेकबहादुर रैकाले आक्रोश व्यक्त गरे। बिना विवरण सचिवालयले घरभाडा वापतको रकम आफूहरुको खातामा हालेर बदनाम गराउने काम गरेको उनले बताए।
अन्य दलले जे गरेपनि राजधानी नजिक घर भएका कांग्रेसका सांसदहरुले अहिलेसम्म घरभाडा वापत खातामा आएको रकम पुरै फिर्ता गर्ने सांसद रैकाले बताएका छन्।