काठमाडौँ। इनिशा विक हत्या प्रकरणमा अदालतमा अभियोग दर्ता भएपछि दुवै पक्षबाट प्रदर्शन सुरु भएको छ। घटनापछि विगत २५ दिनदेखि पीडित पक्षका आफन्त तथा अधिकारकर्मीहरूले न्यायको माग गर्दै धर्ना र प्रदर्शन गर्दै आएका छन्।
आइतबार सरकारी वकिल कार्यालयले चार जना किशोरविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेपछि आरोपित पक्षका आफन्तहरू पनि आन्दोलनमा उत्रिएका छन्। मंगलबार वीरेन्द्रनगरमा आरोपित पक्षका आफन्तहरूले प्रदर्शन गर्दै अदालतले पर्याप्त प्रमाणबिना हचुवाको आधारमा मुद्दा दायर गरेको आरोप लगाए। उनीहरूले बजार क्षेत्र परिक्रमा गरेपछि सुर्खेत जिल्ला अदालत अगाडि धर्ना दिएका थिए र सरकारी वकिलविरुद्ध नाराबाजीसमेत गरेका छन्।
उनीहरूको भनाइ अनुसार, मुख्य दोषी नभएका किशोरहरूलाई समेत फसाउने प्रयास गरिएको छ। यसैबीच, आइतबार दायर भएको मुद्दामा सोमबारदेखि बाल इजलासमा सुनुवाइ सुरु भएको छ। अभियुक्तहरूको बयान सकिएको र मंगलबार थुनछेक बहसपछि अदालतले निर्णय दिने जनाइएको छ। एकातिर पीडित पक्ष न्यायको मागमा उत्रिएको छ भने अर्कोतर्फ आरोपित पक्ष निर्दोषलाई फसाइएको भन्दै विरोधमा उत्रिएको छ। दुवै पक्षको प्रदर्शनका कारण जिल्ला अदालत आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।