काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आइरहेको बताएका छन् ।
गृहमन्त्री सुधन गुरूङले प्रहरी प्रधान कार्यालयले पुगेर कर्मचारीहरूलाई व्यावसायिक निष्ठाका साथ कार्य गर्न निर्देशन दिएपछि उनले यस्तो बताएका हुन् ।
प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षाहरू वास्तविक रूपमा सम्बोधन हुने उल्लेख गर्दै संगठन र संगठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धि सँगै साधनस्रोतको उपलब्धताका साथै गृहमन्त्रीज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनले अत्यन्तै उत्साहित बनाएको बताए।
गृहमन्त्रीबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास व्यक्त गरे ।
आईजीपी कार्कीले प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको बताए ।
प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृहमन्त्रीबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गरे जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताए ।