काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सोमबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको औपचारिक निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा उनले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निष्ठाका साथ कार्य गर्न निर्देशन दिएका छन् ।
भ्रमणका क्रममा गृहमन्त्रीले प्रहरीले अपनाउँदै आएका आधुनिक प्रविधि र शाखाहरूको वस्तुगत अवस्थाबारे जानकारी लिएका हुन । उनले विशेष गरी प्रहरी सङ्ग्रहालय र डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सनको निरिक्षण गरेका हुन ।
निरीक्षणपश्चात आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले पु¥याएको योगदानको प्रशंसा गरेका हुन ।
गृहमन्त्री गुरुङले प्रहरीले आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्दा कुनै पनि तहबाट हस्तक्षेप नहुने सुनिश्चितता दिएका हुन । उनले नागरिक र प्रहरीबीचको दूरी घटाउन शिष्ट बोली र सभ्य व्यवहारका साथ सेवा प्रवाह गर्न उहाँले कडा निर्देशन दिएका हुन । प्रहरीको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यसम्पादन र वैज्ञानिक प्रणालीका आधारमा मात्र अगाडि बढाइने स्पष्ट पारेका छन् । संगठनलाई समयसापेक्ष, प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री गुरुङले बताए