काठमाडौँ । प्रहरीले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। सुनसरी, मोरङ, झापा, बारा र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ब्राउनसुगर, गाँजा र नियन्त्रित फर्मास्युटिकल ड्रग्ससहित उनीहरू पक्राउ परेका हुन्।
सुनसरी र मोरङबाट मात्र प्रहरीले ब्राउनसुगर र नगदसहित ७ जनालाई पक्राउ गरेको हो । जसमा सुनसरीको इनरूवा–४ बसचोकबाट आइतबार साँझ दुई छुट्टाछुट्टै समूह पक्राउ परेका छन्। ४ ग्राम ३४० मिलिग्राम ब्राउनसुगरसहित मोरङका २१ वर्षीय अनिस तामाङ र २२ वर्षीय राघब राई पक्राउ परेका छन् भने सोही स्थानबाट १ ग्राम ७३० मिलिग्राम ब्राउनसुगरसहित २६ वर्षीय सचिन घिमिरे र २८ वर्षीय बिबेक श्रेष्ठ समातिएका छन्।
त्यस्तै, धरान–९ देवकोटा पथबाट को.३४ प १११४ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक २३ वर्षीय आदित्या सागर २ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर र ७१ हजार ७९५ नगदसहित पक्राउ परेका छन्। उनको बयानका आधारमा धरानकै कान्तिपुर गेष्ट हाउसबाट १० ग्राम २०३ मिलिग्राम ब्राउनसुगरसहित २६ वर्षीय राज कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको पथरी शनिश्चरे–५ बाट ९४ ट्याब्लेट नाइट्राजेपाम र ९० ट्याब्लेट ट्रामाडोलसहित १९ वर्षीय विश्वास तामाङ र सागर चौधरी पक्राउ परेका छन्।
झापाको गौरादह–२ हिमालचोकबाट १ ग्राम २०० मिलिग्राम ब्राउनसुगर र १० ट्याब्लेट ट्रामाडोलसहित ३० वर्षीय धिरन राईसहित ३ जना पक्राउ परेका छन्। यता बाराको जीतपुरसिमरा–२२ बाट करिब २ किलो गाँजासहित रौतहटका ३५ वर्षीय मनोज पासवानलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले नियन्त्रणमा लिएको छ।
कैलालीको बर्दगोरिया–२ बाट ३७० मिलिग्राम खैरो हेरोइनसहित ४२ वर्षीय मिन बहादुर डगौरा पक्राउ परेका छन्। त्यसैगरी, कञ्चनपुरको भीमदत्त–११ होल्डिङ्ग सेन्टरबाट २४ ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित २७ वर्षीय टेकेन्द्र भण्डारीलाई लागूऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको टोलीले पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएका छन्।