काठमाडौं । कैलाली र संखुवासभामा नाबालिकालाई जबरजस्ती करणी गरेको छुट्टाछुट्टै अभियोगमा दुई जना युवा पक्राउ परेका छन् । प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
कैलालीको जानकी गाउँपालिका–७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, संखुवासभाको चैनपुर नगरपालिका–७ फलाटे बस्ने १९ वर्षीय निसान कार्कीलाई १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुरको टोलीले उजुरी प्राप्त भएलगत्तै उनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।