काठमाडौँ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ट्रामाडोल नामक नियन्त्रित लागूऔषध ३६ हजार ५०० ट्याब्लेटसहित पाँच जनालाई आइतबार बिहान पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौरसिया लगायत रहेका छन्। प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको टोलीले वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख १८०५ नम्बरको बस जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ। यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट करिब ७ किलो ५०० ग्राम गाँजासहित थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको बेतिया बस्ने ३९ वर्षीय जावेद अन्सारी, २८ वर्षीय गरिब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन्। उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।