काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्यूजिल्यान्ड पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नं। १९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटी रहेका छन्।
नगरकोटीले न्यूजिल्यान्ड पठाउने भन्दै २ जना पीडितहरूबाट कुल १६ लाख ३० हजार रुपैयाँ असुल गरी सम्पर्कविहीन भएको भन्दै उजुरी परेको थियो। पीडितहरूको सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई ललितपुरको गोदावरी नगरपालिका वडा नं। ११, चापागाउँबाट शुक्रबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका नगरकोटीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगीबाट बच्न र आधिकारिक माध्यमबाट मात्र वैदेशिक यात्राको प्रक्रिया अघि बढाउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ।