काठमाडौँ । प्रहरीले मोरङ र ललितपुरका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बेलुकी र राति गरिएका यी कारबाहीमा प्रहरीले कुल २ लाख २९ हजार ५ सय ९५ रूपैयाँ नगद समेत बरामद गरेको छ।
मोरङको विराटनगर महानगरपालिका–२ का वंशी राठीको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय बलराम राठी लगायत रहेका छन्। उनीहरूको साथबाट ९२ हजार ६ सय ४५ रूपैयाँ र ५ बुक तास बरामद भएको छ।
त्यस्तै, ललितपुर ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित शेर बहादुर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर घर भई कोटेश्वर बस्ने ४० वर्षीया योजना लिम्बु लगायत छन्। प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूको साथबाट १ लाख ३६ हजार ९ सय ५० रूपैयाँ र २४ बुक तास बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।