काठमाडौं । प्रहरी प्रधान कार्यालयले तत्काल प्रहरी कर्मचारीलाई बिदामा नछाड्न निर्देशन दिएको छ।हालको अवस्थालाई मध्यनजर गर्दै देशभर प्रहरीलाई बिदा नदिन प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले शनिबार परिपत्र गरेको हो।
प्रशासन शाखाका शाखा अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले मातहका निकायलाई पठाएको पत्रमा प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा नदिने भनिएको छ।यससँगै प्रहरी प्रधान कार्यालयले बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि अविलम्ब काममा फर्किन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको हो।
जेजनी आन्दोलन जाचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
यसको विरोधमा नेकपा एमालेले देशभर विरोधमा उत्रिएको छ। यसैलाई ध्यानमा राखेर प्रहरी प्रधान कार्यालयले प्रहरीलाई बिदा नदिने निर्देशन दिएको हो।