काठमाडौँ । कपिलवस्तु र दाङमा छुट्टाछुट्टै हत्याका घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दाङमा श्रीमानले श्रीमतीलाई कुटपिट गरि हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ क्वाटर चोक बस्ने ३२ वर्षीय सुमन चौधरीको हत्या अभियोगमा सोही ठाउँका ४५ वर्षीय उदय अधिकारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार, अधिकारीले खुर्पा प्रहार गर्दा चौधरी गम्भीर घाइते भएका थिए। घाइते चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले अधिकारीलाई बिहीबार राति नियन्त्रणमा लिएको हो।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१९ दोघरे बस्ने ३३ वर्षीय गोपाल वली आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन्।
२७ वर्षीया कमला वलीलाई श्रीमान् गोपालले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घाइते कमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवैमाथि प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।