काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा बसेर अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने २९ वर्षीय बंगलादेशी नागरिक एमडी शेहबुल इस्लाम रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनलाई बुधबार ठमेलबाट नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको क्रिप्टोकरेन्सी लगायतका विभिन्न अभौतिक मुद्राहरूको अवैध कारोबार गरेको पुष्टि भएको छ। नेपालमा क्रिप्टोकरेन्सी लगायतका अभौतिक मुद्राको प्रयोग र कारोबारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रहरीले उनको साथबाट अवैध कारोबारमा प्रयोग हुने विभिन्न सामग्रीहरू समेत बरामद गरेको छ । प्रहरीले उनको साथबाट ६० हजार रूपैयाँ, विभिन्न बैंकका ३३ थान चेकबुक, विभिन्न बैंकका ७ थान एटीएम कार्ड, ९ थान सिमकार्ड, २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका इस्लाममाथि ’अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर’ अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।