काठमाडौँ । झापा र भक्तपुरका छुट्टाछुट्टै स्थानमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। १६ र १४ वर्षीया बालिकामाथि भएको उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने २५ वर्षीय सुरज राईलाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ। राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएलगत्तै अस्थायी प्रहरी चौकी सालबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
त्यसैगरी, भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १९ वर्षीय साहिल बासुकलालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। बासुकलाले ती बालिकालाई करणी गरेको उजुरी परेपछि प्रहरी प्रभाग दुधपाटीबाट खटिएको टोलीले उनलाई गए राति भक्तपुरको दुधपाटीबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै अभियुक्तमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएका छन्।