काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिकास्थित तिनथानामा भएको एक घर चोरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–१५, तिनथाना बस्ने विक्रम थापा मगरको घरबाट सुनका गरगहना, मोबाइल र नगद चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई मङ्गलबार नियन्त्रणमा लिइएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत फागुन २८ गते विक्रम थापा मगरको घरमा कोही नभएको मौका छोपेर चोरी भएको थियो । उक्त घटना लगत्तै पीडितले दिएको उजुरीका आधारमा अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो। सूक्ष्म अनुसन्धान र प्राविधिक विश्लेषणका आधारमा प्रहरीले चोरीमा संलग्न गिरोहलाई पहिचान गरी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो।
पक्राउ पर्नेहरूमा धादिङ, ओखलढुङ्गा, नवलपरासी, रसुवा र भारतका नागरिकहरू रहेका छन । धादिङ गङ्गाजमुना गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१०, शेषमती बस्ने २ वर्षका प्रशन्न अधिकारी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२६, सामाखुसी बस्ने २९ वर्षका लाक्पा शेर्पा, नवलपरासी पूर्व कावासोती नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–२६, म्हेपी बस्दै आएका (२८ वर्षका प्रदिप गुरूङ, रसुवा नौकुण्ड गाउँपालिका–५ घर भई हाल काठमाडौं नयाँबजार बस्दै आएका (२८ वर्षका सागर कामी र भारत महाराष्ट्र सोलपुर घर भई हाल काठमाडौँ महानगरपालिका–१५, न्यूरोड बस्ने २८ वर्षका गौरब गुणाजी पक्राउ परेका हुन ।
प्रहरीले अभियुक्तहरूको खानतलासी गर्दा उनीहरूको साथबाट २३ ग्राम ३ सय मिलिग्राम तौल भएको सुनका ३ ढिक्का र चोरीको योजना बनाउन र कार्य फत्ते गर्न प्रयोग गरिएको १ थान मोटरसाइकल बरामद गरिएको प्रहरी समाचार कक्षले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। उनीहरूमथि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।