महेन्द्र सुवेदी, बेइजिङ, १४ फागुन - चीनस्थित नेपाली दूतावासले सोमबार बेइजिङमा लगानी सम्मेलन आयोजना गरेको थियाे। आगामी महिना काठमाडौँमा हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै उक्त सम्मेलन सम्पन्न भएकाे हाे।
झन्डै १ सय २० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय तथा अन्यको उपस्थिति रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्साल लगायतले चिनियाँ लगानीकर्ता एवं व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै लगानीको सुरक्षा र लगानीकर्तालाई सहजीकरण गर्न नेपाल सरकार सबै प्रकारले तत्पर रहेको बताएका छन्।
सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा अहिले स्थिर र बलियो सरकार रहेको भन्दै लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने उत्तम समय भएको बताए।
“लगानीको सुरक्षा, लगानीमैत्री कानूनको व्यवस्था तथा प्रतिफल लैजान पाउने जस्ता विषयमा सरकारले स्पष्ट व्यवस्था गरेको छ। लगानीकर्ताले नेपालमा व्यवसाय गर्दा अब कुनै असहज वातावरण भोग्नुपर्दैन,” चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै अधिकारीले भने।
अधिकारीले चिनियाँ लगानीकर्तालाई नेपाल सरकारले कम्पनी ऐन, विशेष आर्थिक क्षेत्र तथा अन्य केही कानूनहरू संशोधन गरिसकेको तथा अन्य केही कानून संशोधन गर्ने चरणमा भएको बताए। उनले सबै कानून लगानी प्रवर्द्धनमा सहयोगी रहनेमा आश्वस्त तुल्याए।
कृषि, बैंकिङ, शिक्षा, स्वास्थ्य, पर्यटन तथा खनिज लगायतका क्षेत्रमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै अधिकारीले लगानीकर्तालाई उनीहरूको लगानीकाे सुरक्षा र व्यवसायमा सहजीकरण गर्न सबै प्रकारका सहयोगको प्रतिबद्धता जनाएका थिए।
“तपाईंहरूले लगानीमात्र गर्नुहुने छैन, बरु नेपालको समृद्धिको मार्गमा सहायता गर्नुहुनेछ र आफ्नो लगानीवापत केही नाफा पनि प्राप्त गर्नुहुनेछ। तसर्थ, चिनियाँ लगानीकर्तालाई आगामी महिना नेपालमा हुने लगानी सम्मेलनमा सहभागी बन्न र नेपालमा लगानी गर्न तत्पर रहन आग्रह गर्दछु,” उनले भने।
कार्यक्रममा राजदूत पौड्यालले नेपालमा बैदेशिक लगानी प्रवर्द्धनका लागि अर्को महीना लगानी सम्मेलन गर्न लागिएको बताउनुभयो । नेपालमा राजनीति स्थिरता रहेको र राजनीतिक समस्याहरू प्रजातान्त्रिक तबरले सबै समस्या हल गरेको जानकारी दिए। नेपालमा लगानीका लागि निर्णय गर्ने यो सबैभन्दा सही समय भएकाे उनले बताए।
उक्त कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूले नेपालमा लगानीका अवसर, चुनौती, सरकारी तहबाट हुने सहजीकरण, कानूनी व्यवस्था लगायतका पक्षमा चासो देखाएका थिए। उपस्थित लगानीकर्ता तथा प्राज्ञिक समुदायले चीनमा आयोजना गरिएको यस प्रकारको पूर्वतयारीको प्रशंसा गर्दै नेपालमा ठूलो मात्रामा चिनियाँ लगानी हुने बताएका छन्। (रासस)