काठमाडौँ । थाइल्याण्डस्थित नेपाली दूतावास र कम्बोडिया सरकारको सहकार्यमा अनलाइन स्क्यामिङमा परेका ५१ नेपाली सुरक्षित रूपमा उद्धार गरी नेपाल फर्काइएका छन्। कम्बोडियामा बिना राहदानी वा गैरकानुनी काममा संलग्न रहेका नेपालीलाई दूतावासले बैंककमा सम्पर्क गर्न अनुरोध गरेको छ।
अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा संलग्न नेपाली नागरिकलाई आज गैरआवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो। नेपाल सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन र प्रलोभनमा नपर्न सबै नागरिकलाई सचेत गराएको छ। दूतावासले अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई पनि उद्धार गर्न पहल भइरहेको जानकारी दिएको छ।साथै, स्क्यामिङ केन्द्र वा गैरकानुनी काममा लगाइएका नेपालीको राहदानी कम्पनीले जफत गर्ने वा हराउने अवस्था आउँदा पनि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी उद्धारको व्यवस्था गरेको जनाएको छ। कम्बोडियामा नेपालीहरूको संख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको देखिन्छ, र सरकारले वैदेशिक रोजगारीमा जानु अघि कानुनी प्रक्रिया पूरा गर्न र प्रलोभनमा नपर्न अनुरोध गरेको छ।