काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरू पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कास्की, रुकुम पूर्व, गुल्मी र नुवाकोट घर भई हाल काठमाडौंका विभिन्न ठाउँमा बस्दै आएका व्यक्तिहरू रहेका छन् । बिकल पौडेलले १ जनालाई क्यानडा पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । कास्की रुपा गाउँपालिका–५ स्थायी घरभई हाल काठमाडौँ टोखा–३ मा बस्दै आएका पौडेललाई प्रहरी पक्राउ गरेको हो । त्यस्तै, रुकुम पूर्व पुथा उत्तरगंगा–१२ स्थाई घर भई हाल तारकेश्वर–१६ बस्ने ४२ वर्ष धनिराम बुढा लाई प्रहरीले पक्राउ गरेको हो । उनले १ जनालाई अमेरिका पठाउँने प्रलोभनमा १८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो सोही उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
त्यस्तै गुल्मी कालीगण्डकी घर भई हाल टोखा–१० मा बस्दै आएका ३७ बर्षिय काशिराम दर्जी पक्राउ गरिएको प्रहरी समाचार कक्षले जनाएको छ । उनले क्रोएसिया पठाउने भन्दै ३ जनाबाट ३ लाख २० हजार रुपैयाँ लिएर फरार रहेको उजुरीका आधारमा पक्राउ गरिएको हो । त्यस्तै अर्का एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । नुवाकोट शिवपुरी–५ घर भई हाल टोखा–८ बस्दै आएकी २५ बर्षिया सरस्वती भण्डारी लाई पक्राउ गरिएको हो । उनले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोप रहेको छ ।
पीडितहरूले वैदेशिक रोजगारीका लागि रकम बुझाएको तर विदेश नपठाई आरोपीहरू सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बिकल र धनिरामलाई सोमबार तथा काशिराम र सरस्वतीलाई मङ्गलबार पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय क्यानडा, अमेरिका र युरोपेली देशहरूको प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।