काठमाडौँ। राजधानीसहित विभिन्न स्थानबाट लागू औषधसहित चार जना पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट खैरो हेरोइनजस्तो देखिने करिब १८ ग्राम पदार्थ, नगद ५६ हजार नेपाली रुपैयाँ र २ हजार ८०० भारतीय रुपैयाँसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ घर भई हाल बालाजुमा बसोबास गर्दै आएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारतको सितामणि घर भएका २७ वर्षीय जितु कुमार रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त लैनचौरको टोलीले पक्राउ गरेको जनाएको छ। त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–२ बाट पनि एक जना लागू औषधसहित समातिएका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोक घर भएका २९ वर्षीय सुनिल खड्का रहेका छन्। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम २१० मिलिग्राम पदार्थ र ट्रामाडोल ७० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। दुवै घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।