काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकाबाट ठुलो परिमाणको अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मनहरी–९ स्थित खरङगा हरियाली सामुदायिक वनको भित्री बाटोबाट करिब १ सय ७१ किलो २१ ग्राम गाँजासहित एक युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शंकास्पद गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो। भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा १३ च २०१४ नम्बरको गाडीलाई रोकेर खानतलासी गर्दा गाडीभित्र २७ वटा प्याकेटमा लुकाइराखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाडी चालक स्याङतानलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ।