काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणका क्रममा जङ्गलमा हराएका चार जनालाई नेपाली सेनाको टोलीले सकुशल फेला पारी उद्धार गरेको छ।
चैत्र ९ गते निकुञ्जको पदयात्रामा निस्किएका उनीहरू बाटो बिराएर घना जङ्गलमा हराएका थिए। निकुञ्जको सुरक्षाका लागि तैनाथ चन्दननाथ गणको टोलीले खोजी कार्य तीव्र बनाउँदै सोही दिन राति ९ बजे उनीहरूलाई फेला पारेको हो।
सेनाको टोलीले फेला पारेका चारै जनालाई आवश्यक समन्वयपश्चात् थप प्रक्रियाका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ। अझै पनि निकुञ्जका कतिपय पदमार्गहरूमा पर्यटकहरू बाटो भुल्ने जोखिम रहेकाले भ्रमणका क्रममा सावधानी अपनाउन र निर्धारित मार्ग मात्र प्रयोग गर्न निकुञ्ज प्रशासनले अनुरोध गर्दै आएको छ।