काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ। आइतबार साँझ गरिएको विशेष चेकजाँचका क्रममा करिब १२ ग्राम लागूऔषध र दुईवटा मोटरसाइकल बरामद गरिएको हो।
कैलालीको टिकापुर नगरपालिका–९ बाट २ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जीवन कुवँर रहेका छन्।
इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तिबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०१–००८ प ८४७७ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो। प्रहरीले पदार्थ र मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रबाट ९ ग्राम ६५० मिलिग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ कलुवापुरका २४ वर्षीय भीम राना र वडा नं. ५ गुलरियाका २६ वर्षीय आकाश राना रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–००८ प ९७३० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो।
यस घटनाले सीमा क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार अझै पनि चुनौतीको रूपमा रहेको देखाउँछ। पक्राउ परेकाहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।