काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ र सिन्धुलीका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित ’होटल न्यू निप्पोन’ मा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले छापा मारेको थियो।
होटलको कोठामा खानतलासी गर्दा ८० ग्राम खैरो हेरोइन र २ लाख ९४ हजार ९ सय रुपैयाँ नगदसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, तनहुँका ४२ वर्षीय लुज शाक्य र कास्कीका २२ वर्षीय जोशिल बानियाँ रहेका छन्।
त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा गुडिरहेका दुई वटा हायस गाडीबाट ९ ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। झापाबाट काठमाडौँ जाँदै गरेको बा.५ ख ४१९७ नम्बरको हायसमा सवार झापाका २७ बर्षिय निशान राया ८ ग्राम ४५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।
त्यस्तै बा.५ ख १९५७ नम्बरको अर्को हायसमा सवार मोरङका २३ बर्षिय साइमन गुरुङ ५९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन्।