काठमाडौँ । जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले आइतबार काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–१ घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–५ आकाश टोल बस्ने २५ वर्षीय सुभाष सुनार रहेका छन्।
जिल्ला अदालत काठमाडौँले २०७५ जेठ २४ गते सुनारलाई जबरजस्ती करणी उद्योग मुद्दामा ५ वर्ष ११ महिना १० दिन कैद सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सजाय भुक्तान नगरी फरार रहँदै आएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई चन्द्रागिरी नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि आइतबार नै जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ। अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिनेछ।