काठमाडौँ । दमकका व्यवसायी रूपनारायण न्यौपाने मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ५० वर्षीय न्यौपानेको शव बिहीबार बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा भेटिएको प्रहरीले जनाएको छ। दमकबाट करिब ३० किलोमिटर दक्षिणमा पर्ने उक्त स्थानमा उनी बुधबार खेती हेर्न गएका थिए।
स्थानीयले बिहानै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीले आवश्यक मुचुल्का तयार गरी शव परीक्षणका लागि परिवारको जिम्मा लगाएको जनाएको छ। दमकमा लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय न्यौपाने सहकारी अभियान र सामाजिक कार्यमा पनि संलग्न थिए। उनी कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्षसमेत हुन् र दमकमा इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गर्दै आएका थिए। उनका श्रीमती र दुई छोरा रहेका छन्।