काठमाडौँ । पर्यटकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल उपलब्ध गराएको छ। बिहीबार बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्ड अध्यक्ष मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै सचिव निरौलाले पर्यटक सुरक्षा नै पर्यटन विकासको आधार भएको उल्लेख गर्दै यस्ता साधनले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले नेपाललाई सुरक्षित र विश्वसनीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहल आवश्यक रहेको बताए। त्यसैगरी, सीईओ जोशीले पर्यटन पूर्वाधार र सेवा सुधारमा बोर्ड निरन्तर सक्रिय रहेको उल्लेख गर्दै मोटरसाइकलले दुर्गम तथा व्यस्त पर्यटकीय क्षेत्रमा छिटो सेवा प्रवाह गर्न सहयोग पुग्ने बताए।
महानिर्देशक लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले आकस्मिक उद्धार र संकट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार यसले पर्यटकको भरोसा बढाउनुका साथै नेपालको पर्यटन छविलाई सकारात्मक बनाउनेछ। कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, सदस्यहरू नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, तथा पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझालगायतको उपस्थिति रहेको थियो। हाल पर्यटक प्रहरीले पर्यटकको सुरक्षा, सूचना सेवा, सहयोग र उद्धार कार्य गर्दै आएको छ। नयाँ सवारी साधन थपिएसँगै यसको सेवा अझ छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।