काठमाडौँ। सिन्धुली जिल्लामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटना सोमबार राति करिब ९ बजे सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी।पी। राजमार्ग सडक खण्डमा भएको हो।
प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२–०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३–०२–०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा डल्ले माझी ४५को उपचारका क्रममा मृत्यु भएको छ। उनलाई आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचारका क्रममा राति १०:१५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकल चालक कैलाश तोलाङ्गे ३२ र पछाडि सवार दिपेन्द्र के.सी.९४९० घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ। प्रारम्भिक उपचारपछि दुवै घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। उनीहरूको उपचार केएमसी मेडिकल कलेज, सिनामंगलमा भइरहेको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।