काठमाडौँ । कैलालीमा एक पुरुषले आफ्नै श्रीमतीमाथि गोली प्रहार गरी हत्या गरेका छन्। गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँका करिब ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको ज्यान लिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घरायसी विवादका क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएकी संजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि रामबहादुरले सोही बन्दुकबाट आफूलाई समेत गोली हानेका थिए। घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। मृतक संजिताको शव घटनास्थलमै राखिएको छ। माइती पक्ष आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।