काठमाडौँ । भारत को उत्तरपूर्वी सीमावर्ती क्षेत्रमा आतंककारी गतिविधिमा संलग्न रहेको आरोपमा ६ युक्रेनी र १ अमेरिकी नागरिक पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यम द न्यू इन्डियन एक्सप्रेसका अनुसार म्यानमारमा हतियार तथा ड्रोन सम्बन्धी तालिम दिने समूहसँग सम्बन्धित भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले तीन युक्रेनी नागरिकलाई दिल्लीबाट, तीन जनालाई लखनउबाट र एक अमेरिकी नागरिकलाई कोलकाताबाट पक्राउ गरेको जनाएको छ। उनीहरू अवैध रूपमा मिजोरम हुँदै भारत प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गरिएको छैन। अदालतले उनीहरूलाई ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसैबीच, रुसी समाचार एजेन्सी स्पुतनिकले पक्राउ परेकाहरूलाई अमेरिकी गुप्तचर निकाय सीआईएसँग सम्बन्धित तालिमका लागि पठाइएको दाबी गरेको छ, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।