काठमाडौँ । मधेस प्रदेश प्रहरीले मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ मा छापा मारेर ठूलो परिमाणमा अवैध सामान नियन्त्रणमा लिएको छ। तुलसीयाही प्रहरी चौकीदेखि करिब ४०० मिटर पूर्वतर्फ शिव सरन महतोको कुटानी–पिसानी मिल पछाडि गोप्य रूपमा राखिएका १२ वटा बोरामा विभिन्न मोडलका जुत्ता, मोबाइल कभर र महिलाका चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बरामद सामानको मूल्य करिब सात लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। बरामद सामान इलाका प्रहरी कार्यालय फुलगामा बुझाइएको छ र थप अनुसन्धान सुरु गरिएको छ। घटनास्थल उक्त कार्यालयदेखि करिब ७ किलोमिटर टाढा पर्ने बताइएको छ। मधेस प्रदेश प्रहरीले गोप्य सूचनाका आधारमा अवैध भण्डारण, तस्करी र चोरी–छलका मामिलामा नियमित छापा मार्दै आएको र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ।