काठमाडौँ । कृष्णनगर नगरपालिका–३ चैपुरवाबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आइतबार बिहान १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका–४ बर्गदवा निवासी ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका–२ टाँडीका ३२ वर्षीय तुलबहादुर श्रीस रहेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपालतर्फ प्रवेश गर्दै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।