काठमाडौं, १४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन्।
बुधबारदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन मंगलबार सिंहदरबारमा बैठक आयोजना गरेको थियो।
सो बैठकमा नेपाल–भारतस्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए।
ओलीले २३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घनमिटरप्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकाले यस विषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताए।
‘हाम्रो पहिलो प्राथमिकता सन्धिको कार्यान्वयन हो, सन्धिअनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्छ,’ ओलीले भने, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन।’
२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घनमिटरप्रति सेकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
बैठकमा उर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायतको सहभागिता थियो।