काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ४ किलो ३०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन्। बैंककबाट थाई एयरको उडानमार्फत काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो। मुहम्मदको साथबाट करिब २ किलो १४० ग्राम र आयशाको साथबाट करिब २ किलो १६० ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम २३० मिलिग्राम पदार्थ र १६ हजार ७४५ रुपैयाँ नगदसहित ३० वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका–कमलनगरस्थित सब्जीमण्डी क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने ४० ग्राम ३७० मिलिग्राम पदार्थ र ३१ हजार ७५ रुपैयाँ नगदसहित २७ वर्षीया आरोही परियार र २८ वर्षीय विशाल भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट करिब १०५ किलो ५०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित ४३ वर्षीय ओमप्रकाश उर्फ जामुन महतो र २८ वर्षीया कविता कुमारी माझी पक्राउ परेका छन्। उनीहरू सवार अटोमा जाँच गर्दा चारवटा बोरामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट ८२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २२ वर्षीय कमल शाही पक्राउ परेका छन्। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट ४५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३५ वर्षीय केशव बिष्ट र २३ वर्षीय कृष्ण महरा पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–११ गौडीबजारमा रहेको एक पसलबाट ६७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३४ वर्षीय लोकेन्द्र कठायतलाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट १ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारत लखिमपुर खिरीका २२ वर्षीय राजन गुप्ता पक्राउ परेका छन्। त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित ४२ वर्षीय राम असिस राउत अहिर र ३० वर्षीय सुबास सराफ पक्राउ परेका छन्। उनीहरूलाई पक्राउ गरी प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।