काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत राष्ट्रिय सुरक्षामा आँच पुर्याउने र भ्रामक भिडिओ फैलाएको आरोपमा एक नेपाली नागरिकसहित १० जना पक्राउ परेका छन् । यूएईका महान्यायाधिवक्ता डा। हमाद सैफ अल शाम्सीको आदेशमा पक्राउ परेका उनीहरूमाथि ‘तत्काल सुनुवाइ’ प्रक्रिया अघि बढाइएको हो ।
गल्फ न्यूजका अनुसार पक्राउ पर्नेमा नेपाल, इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बङ्गलादेश र क्यामरुनका एकरएक जना तथा भारतका दुई जना नागरिक रहेका छन् । सार्वजनिक अभियोजनले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा आरोपितले यूएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण विफल पारेका वास्तविक फुटेजहरू सार्वजनिक गरेको पाइएको छ । यसका साथै एआईको दुरुपयोग गरी तयार पारिएका नक्कली भिडिओमार्फत यूएईका प्रमुख स्थलहरूमा विस्फोट भएको, आक्रमण भएको र आगलागी भएको भन्दै झुटो प्रचार गरिएको थियो । यस अपराधमा दोषी ठहरिएमा आरोपितलाई कम्तीमा एक वर्षको जेल सजाय र एक लाख दिराम (करिब ४० लाख रुपैयाँ) भन्दा कम नहुने गरी जरिवाना तिराइने कानुनी व्यवस्था छ ।