कपिलबस्तु । जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पीडित श्रेष्ठमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिई दुवै जनालाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेकी आमाछोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।