काठमाडौँ । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको न्याय माग गर्दै विद्यार्थीहरू वीरेन्द्रनगरमा प्रदर्शनमा उत्रिएका छन्।उनकी अध्ययनरत विद्यालय उषा बालवाटिका का विद्यार्थी र शिक्षक कर्मचारीहरू विद्यालय पोशाकमै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले “इनिशालाई न्याय दे”, हत्यारालाई फाँसी दे”,छोरी मार्न पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित आवाज उठाएका छन्।
फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन्। घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली सुर्खेत पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार प्रारम्भिक अनुसन्धान पूरा भइसकेको र वैज्ञानिक प्रमाणको विश्लेषणका लागि सिआइबीको सहयोग आवश्यक परेको छ। पोस्टमार्टम रिपोर्ट, मोबाइल फोन र अन्य प्रमाणहरूको टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ। साथै, पोलिग्राफ परीक्षण पनि भइरहेको छ जसले झुटो बोलेको पत्ता लगाउनेछ। इनिशाको शव अझै आफन्तले बुझ्न मानेका छैनन्। उनका बुबा इन्द्रबहादुर बिक रोजगारीको लागि दुबइमा हुनुहुन्थ्यो र छोरीको हत्याको खबर पाएर भारत हुँदै सुर्खेत आएका हुन्। उनका अनुसार, “योजनाबद्ध रुपमा छोरीको हत्या गरिएको छ, पार्कबाट जंगलतिर लगेर हत्या गरिएको हो। न्याय नपाएसम्म शव नबुझ्ने अडान राखेका छौँ ।