काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ६ः १० बजे हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परेका टेलर चालक स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। स्थानीयको सहयोगमा उनलाई चुरेहिल अस्पताल पठाइएको थियो। तर टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको कारण अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृत्यु हुने व्यक्ति गोबिन्द चौधरी, सर्लाहीको बरहथवा–१५ पिपराभिट्टा घर भई हाल पर्सा, वीरगञ्ज–२ छपकैया बस्दै आएका ३८ वर्षीय व्यक्ति रहेको खुलेको छ। ट्रक चालक धनेश्वर चौधरी, चितवनको खैरेनी–९ बस्ने ४२ वर्षीय व्यक्ति सकुशल रहेको र उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीमा नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटी का अनुसार, अविरल वर्षापछि लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।