काठमाडौँ । नेपाल प्रहरीले प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएका निर्वाचन प्रहरीलाई आज बिदाइ गरेको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो ।
उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ गरेका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षार्थ खटिएका ती निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र पनि प्रदान गरी बिदाइ गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि उनीहरूलाई ४० कार्यदिनका लागि अस्थायी रूपमा भर्ना गरिएको थियो। यसैबिच सशस्त्र प्रहरी बलले पनि सशस्त्र प्रहरी मातहत खटिएका निर्वाचन प्रहरीको पनि बिदाइ गरेको हो ।