काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि परिचालन गरिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई आज बिदाइ गरिने भएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षार्थ खटिएका ती प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरी बिदाइ गर्ने कार्यक्रम राखिएको जनाइएको छ।
साथै आवश्यक पर्दा पुनः राष्ट्रको सेवामा सहयोग गर्ने प्रतिबद्धतासहित उनीहरूलाई सम्मानपूर्वक विदा गरिने बताइएको छ। निर्वाचन सुरक्षाका लागि उनीहरूलाई ४० कार्यदिनका लागि अस्थायी रूपमा भर्ना गरिएको थियो। उक्त अवधि आज समाप्त हुने भएकाले बिदाइ कार्यक्रम आयोजना गरिएको हो।
यसपटक नेपाल प्रहरीको मातहतमा १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलको मातहतमा १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरी मातहत खटिएका निर्वाचन प्रहरीको बिदाइ कार्यक्रम पनि आजै आयोजना गरिने भएको छ।