काठमाडौं । फेक ‘रेस्क्यु’मा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बिमा रकम दाबी गरी ठगी गरेको आरोपमा सिन्धुपाल्चोक सोलु दूधकुण्ड नगरपालिका–१ का ५० वर्षीय पासाङ शेर्पालाई बुधबार पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरेको आरोपमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ शेर्पाले पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाई बिमा रकम ठगी गरेको अनुसन्धानमा खुलेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रहरीले यसअघि पनि फेक रेस्क्युमा संलग्न भएको आरोपमा १० जना पर्यटन व्यवसायी तथा अस्पतालको सञ्चालकलाई पक्राउ गरिसकेको छ ।