काठमाडौँ। देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ब्राउन सुगर, खैरो हेरोइन, गाँजा तथा नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक गेस्ट हाउसबाट ब्राउन सुगरजस्तो देखिने करिब २ ग्राम पदार्थसहित झापा गौरादह नगरपालिका–५ घर भएका ३५ वर्षीय विकास बिष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गेस्ट हाउसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो। यसैगरी झापा मेचीनगर नगरपालिका–६ बाट ६६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित मेचीनगर–१२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बा पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा शाखाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको हो। त्यस्तै झापा बाह्रदशी गाउँपालिका–६ पचासबिघेबाट ८४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–८ का २१ वर्षीय बसन्त न्यौपाने र बिर्तामोड–६ का २५ वर्षीय राहुल लुइँटेल रहेका छन्। रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ पुष्पलाल पथस्थित डेराबाट करिब ३ किलोग्राम गाँजासहित २७ वर्षीय अर्मान अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त गाँजा बरामद गरेको हो।
सुनसरी धरान उपमहानगरपालिका–६ पानबारीबाट नियन्त्रित औषधि ट्रामाडोल २४० ट्याब्लेट र डिको लिक २३५ ट्याब्लेटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युवराज लिम्बु, उत्सव विक, सौगात कटुवाल र रूपेश राई रहेका छन्। यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका–६ बाट ६५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–२ का हर्कबहादुर खड्का र जानकी गाउँपालिका–७ का मिना राजी रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ परेका हुन्। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।