काठमाडौँ । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको ज्यान गएको छ। परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समाएर फोटो खिच्ने क्रममा अचानक बन्दुक पड्किएको प्रहरीले जनाएको छ। उक्त घटनामा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए।
बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा हाल आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएपछि गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट पुगेको प्रहरी टोलीले घटनासँग सम्बन्धित शंकामा परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक समेत बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।