काठमाडौँ । ललितपुरको कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कुलको स्टोरबाट आज बिहान एउटा चितुवाको उद्धार गरिएको छ। जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र महानगरीय प्रहरीको सहयोगमा चितुवालाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिएको हो।
सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार करिब १० वर्ष उमेर र झण्डै ६० केजी तौल भएको उक्त चितुवालाई उद्धारपछि उपचारका लागि चिडियाखानास्थित वन्यजन्तु अस्पतालमा राखिएको छ। उपचारपछि चितुवालाई पुनः प्राकृतिक बासस्थानमा छाड्ने तयारी गरिएको उनले बताए चिडियाखानाले गत एक वर्षमा २४१ वटा वन्यजन्तु तथा चराचुरुङ्गीको उद्धार गरेको जनाएको छ। तीमध्ये उपचारपछि ५७ वटा जनावरलाई पुनः प्राकृतिक बासस्थानमा फर्काइएको थियो। हाल जावलाखेलस्थित चिडियाखानामा ११५ प्रजातिका करिब १ हजार ३०० भन्दा बढी वन्यजन्तु रहेका छन्।