काठमाडौँ। गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ। डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका सूर्य बहादुर घर्ती क्षेत्री (माछापुच्छ्रे गाउँपालिका–४ लाचोक) लाई मंगलबार दिउँसो पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो।
उनले २०८२ साल भदौ २४ गते कारागारको सुरक्षा घेरा तोडेर फरार भएका थिए। लामो समयदेखि फरार रहेका घर्ती क्षेत्रीको खोजतलासका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष संयुक्त टोली परिचालन गरेको थियो। प्रहरीले फेला पारेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई बाँकी कैद भुक्तानका लागि पुनः कास्की कारागारमा पठाएको छ।