काठमाडौँ । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत फेला परेकी ५० वर्षीया मानादेवी चौधरीको हत्या उनकै श्रीमान प्रेमलाल चौधरीले गरेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार, गत मंगलबार होलीको दिन बिहान मृतकको शरीरमा चोटको निशान देखिएको अवस्थामा प्रहरीमा खबर पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा प्रेमलालले आपसी विवादका क्रममा श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। प्रहरीका अनुसार, घटनामा २८ वर्षीय मगरु चौधरीले कर्तव्य ज्यानको जाहेरी दायर गरेका छन्। प्रेमलाललाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।