काठमाडौँ । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब रु ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँमा जाँच गर्ने क्रममा अन्दाजी रु ६ लाख २९ हजार २०० बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार बरामद गरिएका सामान थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।
प्रहरीका अनुसार ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी रु १ लाख २४ हजार रहेको छ। त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट रु २७ हजार बराबरका १८० जोर महिला चप्पल पनि नियन्त्रणमा लिइएको छ। त्यस्तै मायादेवी गाउँपालिका–६ खल्बटबाट रु ७२ हजार ५०० बराबरका एल्बो सकेट १४१ थान, मोबिल तेल ८.५ लिटर, एक बोरा कुरकुरे र एक बोरा सर्फ बरामद गरिएको प्रहरीले जनाएको छ। देवदह नगरपालिका–४ केरवानी क्षेत्रमा दुईवटा मोटरसाइकलमार्फत ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त कुखुराको अनुमानित मूल्य रु १ लाख २२ हजार रहेको छ। यसैगरी रोहिणी गाउँपालिका–३ लखनौटियाबाट रु २२ हजार १०० बराबरका तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ। कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट भने दुई मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी रु १ लाख ११ हजार ६०० रहेको छ। त्यस्तै सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट रु १ लाख ५० हजार बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान र फलामको चेन पाँच थान पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित कार्यालयमा पठाइएको जानकारी दिएका छन्।