बागलुङमा घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा दुई वर्षीय हेन्सल पुन छतबाट खसेर घाइते भएका हुन्।
बिहीबार दिउँसो करिब २ बजे घरको छतमा खेलिरहेका बेला उनी अचानक खसेका थिए। गम्भीर घाइते भएका पुनलाई उपचारका लागि तत्काल बुर्तिबाङ अस्पताल लगिएको थियो।
बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि पोखराको मणिपाल अस्पताल रिफर गरिएको हो।
ढोरपाटन नगरपालिका–३ पुर्कोट घर भएका पुनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।