दोलखाको मालु मतदान केन्द्रमा विवादपछि मतदान रोकियो
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ। मतदान गर्ने क्रममा मतदाताबीच विवाद बढेपछि स्थिति तनावपूर्ण बनेको थियो।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेको बताइएको छ। त्यसपछि सुरक्षामा खटिएका प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेका थिए।
हवाई फायरपछि मतदान स्थल वरपर नाराबाजी सुरु भएको थियो। घटनापछि मतदान प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ।
अहिले स्थिति सामान्य बनाउन प्रयास भइरहेको छ। सोही क्रममा सर्वदलीय बैठक बोलाइएको छ। बैठकमा विवाद समाधान गरी पुनः मतदान सुरु गर्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ।
सुरक्षा निकायले मतदान केन्द्रमा थप सुरक्षा व्यवस्था कडा बनाएको छ। परिस्थितिलाई शान्त बनाउँदै मतदान प्रक्रिया पुनः सुरु गर्ने तयारी भइरहेको बताइएको छ।