काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। निर्वाचन सुरक्षाको अवस्थाबारे सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले एकीकृत सुरक्षा योजना अनुसार काम भइरहेको जानकारी दिएका हुन्।
आईजीपी कार्कीले सुरक्षा निकायले देशभरका ८ वटा विभिन्न केन्द्रबाट सूचना संकलन गर्दै त्यसको सूक्ष्म मूल्याङ्कन गरिरहेको बताए । उनले संयुक्त रूपमा गर्नुपर्ने सबै सुरक्षा गतिविधिलाई प्रभावकारी बनाउन गृह मन्त्रालयसँग समन्वय गरेर काम भइरहेको बताए।
कार्कीले हिमाली क्षेत्रको भौगोलिक विकटता र मौसमलाई ध्यानमा राख्दै प्रहरीले विशेष सतर्कता अपनाएको उल्लेख गरे। मौसम विभागसँग समन्वय गरेर निर्वाचनको दिन हिमपातको सम्भावना नरहेको भए पनि चिसोका कारण हुन सक्ने समस्या समाधानका लागि आवश्यक परे हेलिकप्टर व्यवस्थापन समेत गरिएको जनाए ।
त्यसैगरी, मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग र निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमाथि कडा निगरानी राखिएको प्रहरीले जनाएको छ। आईजिपी कार्कीले निर्वाचनको वातावरण बिथोल्ने वा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट चेतावनी दिएका छन्।