काठमाडौं, १४ फागुन – विवेकशील साझा पार्टीले भर्खरै शुरू गरेको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मंगलबार देशका विभिन्न ठाउँमा पार्टीका नेता तथा शुभेच्छुकहरूले प्रदर्शन गरेका छन्।
काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, इटहरी, पोखरा, बुटवल, नवलपुर, सुर्खेत, धनगढीलगायत कयौं ठाउँहरूमा प्रदर्शनकारीहरूले शान्तिपुर्वक ‘ठूलो माछा समाऊ, भ्रष्टाचारी जेल परून्, बेरोजगार छन् दम्पत्ति, कहाँबाट आयो सम्पत्ति, चर्को स्वरमा बौलौं, भ्रष्टाचारीको पोल खोलौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले ठाउँठाउँमा भष्टाचारविरुद्ध युद्धको उद्घोष गर्न शंखनाद पनि गरेका थिए।
अख्तियार दुरुपयोग अनुषन्धान आयोग भएका ठाउँहरूमा प्रदर्शनकारीहरुले भ्रष्टाचार विरूद्ध ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्रमा ‘देश भ्रष्टाचारले बर्बाद भएको र अख्तियारजस्तो शक्तिशाली निकायले कुनै राजनीतिक दबाबमा नपरी ठूला भ्रष्टाचारीलाई कारवाही गर्न डराउन नहुने’ उल्लेख गरिएको थियो। प्रदर्शनकारीहरूले भष्टाचार विरूद्धको लडाइँमा अख्तियारलाई आफूहरूले सधैं साथ दिने बताएका थिए।
भ्रष्टाचार विरूद्धको अभियानलाई विवेकशील साझा पार्टीले निरन्तरता दिने विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताएका छन्।